राजनीति

रविको पक्षमा प्रदर्शन गर्ने र प्रहरीबीच चितवनमा झडप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा बयानका लागि लैजाने क्रममा चितवनमा झडप भएको छ ।

चितवनको सहारा सहकारीको रकम अपचलनको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको थियो । मंगलबार बयान नसकिएपछि आज बुधबार बयान लिन लागिएको हो ।

बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । त्यस्तै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गर्दै पनि प्रदर्शन भएको छ ।

लामिछानेका समर्थकहरुले बिना सर्त रिहाइको माग गर्ने उहाँका समर्थकहरुले अहिले जिल्ला प्रहरी कार्यलय अगाडि प्रदर्शन गरी नाराजुलुस गरिरहेका छन् । जुलुसपछि ढुङ्गा प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास अनि लठ्ठी प्रहार गरेको हो ।

उनीहरुले लामिछाने निर्दोष रहेको र राजनैतिक पूर्वाग्रहका कारण थुनामा रहेकाले निःशर्त छाडिनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए ।

उता जिल्ला समन्वय समिति अगाडि निस्किएको सहकारी पीडितहरुको र्‍याली भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरुलाई कारबाहीको माग गरेका छन् ।

सहकारी पीडित र रवि समर्थकहरुको भेट नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीहरुलाई पानीको फोहोरा हानेको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीमा बचत कर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि चितवन ल्याइएको हो ।

यस सहकारीबाट रु. ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक मिश्रका अनुसार हिनामिना भएको रकममध्ये रु। १० करोड ८० लाख गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।

यसअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका बचत अपचलन गरेको आरोपमा बयान सकिएको छ ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबिच धकेलाधकेल भएको थियो ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मङ्सिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए। मङ्सिर ७ गते चितवनमा पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.