छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं, जाजरकोट, सिरहा, कपिलवस्तु, नवलपरासी पूर्व र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
![accident](https://www.nepaljapan.com/wp-content/uploads/2024/04/accident-e1714468172145.jpg)
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका-४ घर भई काठमाडौं अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईंको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै जाजरकोट, भेरी नगरपालिका-१० नुवागाउँस्थित सडकमा कार्कीगाउँबाट कुदुतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२ च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक कैलाली घर भएका २५ वर्षीय मनोज केसी र जिपमा सवार जुम्ला घर भएका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार एक जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहको छ । यस्तै सिरहा, सिरहा नगरपालिका-११ भलुवाहीस्थित सडकमा स.१ ह ७२४ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय निरज कुमार कामतीको बुधबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । यता कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ मोडाहास्थित सडकमा यूपी ५५ एक्यू ५३४२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिरदलाल नाउँको बुधबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । उता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-४ ईट्टा भट्टीस्थित सडकमा बा.प्र.०६-००१ प ६२७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपेन्देही सिद्धार्थनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय पंकज ज्ञवालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहास्थित सडकमा म.प.०३-००१ क २९४१ नम्बरको बसले से.३ प ४७९६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका-७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्