क्रिकेटखेल

अण्डर १९ खेलाडी नरेन बलिङमा चम्कदा सुदूरपश्चिमको दोस्रो जित

नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

नरेन जारी एनपिएलमा एकै खेलमा पाँच विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने । जारी एनपिएलमा यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहिल तनविरले पाँच विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६७ रन बनाएको हो । सुदूरपश्चिमको लागि ब्रान्डन म्याकमुलेनले ३६ बलमा तीन चौका र चार छक्काको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान दिपेन्द्र सिंह ऐरीले २५ बलमा तीन चौका र २ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

यस्तै बिनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन जोड्दा सैफ जैबले ११ रन बनाए । काठमाडौँको लागि रशिद खानले दुई विकेट लिए भने करण केसी, गेर्हार्ड इरास्मस र शाहब आलमकोको भागमा समान एक-एक विकेट रह्यो ।

सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौँ १५.५ ओभरमा ९४ रनमै समेटियो । काठमाडौँका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३७ रन बनाए भने सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १०-१० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमको लागि नरेनले पाँच विकेट लिँदा अविनाश बोहराले दुई विकेट लिए भने ब्राण्डन म्याकमुलेन र सैफ जैबको भागमा समान एक-एक विकेट रह्यो । खेलको म्यान अफ दि म्याच नरेन साउद चुनिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.