‘प्रतिगमनकारी’ भनिएको दलभित्र क्रान्तिकारी पहल, अरु दलका नेतालाई चुनौति र हिम्मत (भिडियो)
मुलुकका प्रमुख राजनीतिक दलहरुमा उमेरले वयोवृद्ध अवस्थामा पुगिसकेका नेताहरुकै पदमा बसिरहने चाहनाले नयाँ पुस्ता नेतृत्वमा आउनै सकेको छैन । जनताले सम्भावना देखेका विभिन्न दलका दोस्रो–तेस्रो पुस्ताका नेताहरुले पार्टी र सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठिरहे पनि नेताहरुले नै हिम्मत गर्न सकेका छैनन् ।
अझ कस्तो अवस्था भने कुनै पनि दलका नेताले भावी अध्यक्ष वा सभापति अथवा प्रधानमन्त्री यो हो भनेर भन्नै चाहेनन्, उनीहरु युवा पुस्ताका नेतालाई सधैं आफ्नो दौराको फेर समाउन लगाएर भाग दिनुमै खुसी छन् । त्यस्तै नेताहरु पनि शीर्ष नेताका अगाडि नतमस्तक भएर उनीहरुकै आदेश मानेर दिएको ठाउँमा बस्ने अधिकांश नेतालाई बानी परेको छ ।
यसबीचमा नेतृत्व परिवर्तनको दैलो उघार्ने काम भयो राप्रपाबाट । क्रान्तिकारी वा परिवर्तनकारी दलहरुले प्रतिगमनकारीको सज्ञा दिइएका राप्रपाका नेता राजेन्द्र लिङदेन चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष कमल थापालाई पराजित गरेर अध्यक्ष बन्नुभयो ।
परिवर्तित राजनीतिमा पुरानै व्यवस्थाको वकालत गर्दै आएको र क्रान्तिकारी वा परिवर्तनकारी भनिने दलका नेताहरुबाट प्रतिगामीको संज्ञा दिइएका राप्रपाले परम्परागत नेतृत्व शैलीलाई चुनौति दिएर नयाँ पुस्तामा नेतृत्व सम्पनु ती तमाम क्रान्तिकारी र परिवर्तनकारी दलका दोस्रो र तेस्रो पुस्ताका नेताहरुका लागि चुनौति र हिम्मत पनि हो ।
हुन त प्रमुख दलभित्र महाधिवेशनको संघारमा नेतृत्वका लागि उम्मेदवारी दिन चलन नरहेको हैन, तर उम्मदवारी केवल आफूले आलोचना गरेका नेताको बिरोधका लागि मात्रै हुने गरेको छ । कार्यकर्तालाई आकर्षित गर्ने कुनै क्षमता नै देखाउन सकेका छैनन् । कार्यकर्ता पनि परिवर्तित हुनै नचाहेको देखिएको छ । नेकपा एमालेको महाधिवेशनले त्यस्तै देखायो ।
प्रस्तुत भिडियो गत निर्वाचनको पूर्वसन्ध्यामा तयार गरिएको हो । भिडियोमा उल्लेख गरिएका नेतामध्ये रवीन्द्र अधिकारी आज हामीबीच हुनुहुन्न । राजनीतिक दलहरु महाधिवेशनको तयारीमा लागिरहेको र निर्वाचन पनि नजिकिंदै आइरहेकाले पुरानै भए पनि सान्दर्भिक भएकोले यो भिडियो सेयर गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्