न्यूरोडको ‘ओमपाल गोल्ड शप’मा प्रहरी छापा : पौने आठ किलो सुन बरामद
तस्करीको सुन गालेर बेचेको अभियोगमा प्रहरीले न्यूरोडको एक सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुनसहित संचालकलाई पक्राउ गरेको छ ।
समाचार अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति छापा मारी ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको हो ।
एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।
सो पसलबाट प्रहरीले केही ढिक्का र केही गहनासहित ७ किलो ८ सय ग्राम सुन बरामद गरेको हो । सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप)मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।
यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्