राजनीति

प्रधानमन्त्रीको कामको गतिलाई मन्त्रीहरुले समाउन सकेनन् : पूर्वसभामुख सापकोटा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै काम गर्न खोज्नु भएको तर, मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग नगरेको बताउनुभएको छ ।

बुधबार भक्तपुरमा रफत संचार क्लबले आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताउनुभयो ।

सापकोटाले मन्त्रीहरुले प्रधानमन्त्रीको कामको गतिलाई समाउन नसकेको र कर्मचारीले त झनै सरकारलाई सहयोग नगरेको आरोप समेत लगाउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा उहाँले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको दावी गर्दै सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।”

प्रवक्ता सापकोटाले जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन नसकेको र सहयोग पनि नभएको बताउनुभयो ।

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताउनुभयो ।

नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उहाँले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सत्ता गबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताउनुभयो ।

सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताउनुभयो ।

पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसदभन्दा माथि कोही हुँदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अलमलिएको छ, विधेयकहरु पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.