कांग्रेस-एमालेको ‘दुई तिहाई’ सरकार कि च्याँखे थाप्नेको रजगज
मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि भावी सरकार गठनको गृहकार्य सुरु भएको छ । दुई तिहाई बहुमतको सरकार बनाउने दावी गरेको सत्ता गठबन्धन सरकार बनाउन पुग्ने गरी पनि सिट संख्या नजितेपछि साना पार्टीहरुको शरण पर्न बाध्य भएको छ ।
अहिलेको संसदको संरचनाले मुलुक चरम राजनीतिक अस्थिजरतामा जाने निश्चित भएको छ । सरकारमा बस्नकै लागिm, टिक्नकै लागि च्याखे दाउ थाप्नेहरुको जायज नाजायज सबै माग पूरा गर्नुपर्ने बाध्यता सिर्जना भैरहेको छ ।
हुन त मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिले दुई तिहाई पुग्नेछ । मुलुकको हित र विकासका साथै अहिलेसम्मको अभ्यासका क्रममा उत्पन्न संवैधानिक अबरोधहरु हटाउने हो भने यी दुई दलको दुई तिहाईको सरकार बनाउनु सबभन्दा बुद्धिमानी हुनेछ ।
यसबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ को निर्वाचनपछि पहिलो र दोस्रो बनेका नेपाली कांग्रेस र नेकपा एमालेलाई मिलेर नयाँ सरकार बनाउन सुझाव दिनुभएको छ ।
अध्यक्ष थापाले राजनीतिक धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने क्रममा उहाँले संविधान निर्माणका बेला देशका दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त सरकार बनाएर महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब पनि त्यस्तै सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, अहिले फेरि एकपटक संविधानको रक्षाका निमित्त, संविधानको भावनाअनुसार राज्य सञ्चालनको आधार, मुलुकमा शान्ति र स्थायित्व कायम गर्न तथा र आर्थिक सम्वृद्धिको लक्ष्य हासिल गर्न कांग्रेस र एमालेले मिलेर, दिगो समझदारी कायम गरी पाँच वर्ष संयुक्त सरकार सञ्चालन गर्नु देश र जनताको हितमा हुनेछ।
अध्यक्ष थापाले अपवित्र गठबन्धन बनाएर वा लोभ, लालच र प्रलोभनको आधारमा सांसदहरुलाई आफ्नो पक्षमा पारेर देशले भोग्नु परेको संकट समाधान नहुने बताउँदै च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरुलाई निरुत्साहित गर्नु जरुरी रहेको बताउनुभएको छ ।
अध्यक्ष थापाले भन्नुभएको छ, “अहिले राष्ट्रियता कमजोर भएको छ, बाह्य शक्तिहरुको चलखेल र प्रभाव बढेको छ, नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत हुने सम्भावना टडकारो देखिन्छ, दलहरुप्रति आमजनताको वितृष्णा बढेको छ, लोकतन्त्र संस्थागत हुन सकेको छैन। भ्रष्टाचार व्यापक भएको छ, बेरोजगारीले विकराल रुप लिएको छ। अर्थतन्त्र धराशायी हुने खतरा बढेको छ। धर्म परिवर्तनको डढेलोमा राष्ट्रिय पहिचान गुम्ने अवस्था सिर्जना हुँदैछ। यस्तो अवस्थामा देशलाई संकटबाट मुक्त गर्न दलहरुले नै इमान्दार प्रयास गर्नुबाहेक अर्को विकल्प छैन ।”
त्यस्तै अध्यक्ष थापाले कांग्रेस र एमालेको संयुक्त सरकार बनेको अवस्थामा युवाहरुको नवोदित दलहरुले पनि प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने र भविष्यमा राष्ट्रको नेतृत्व लिने अनुभव हासिल गर्न सक्ने तर्क गर्नुभएको छ ।
तर थापाले यस्तो हुनेमा आफूलाई विश्वास भने नलागेको बताउनुभउको छ । उहाँले लेख्नुभएको छ, “के कांग्रेस र एमालेले यो समयको माग र राष्ट्रिय दायित्व निर्वाह गर्ने आँट गर्न सक्छन् ? मलाई विश्वास त लागेको छैन, चुनावमा खर्चपानी दिने र गठबन्धन निर्माणमा सहयोगी भूमिका खेल्ने देशीविदेशी शक्तिहरुले नेपालको भलो हुने, नेपालमा शान्ति र स्थायित्व कायम हुने काम गर्न दिन्छन् जस्तो लाग्दैन।”
यी दुई दलको सरकार बने यो सरकार अघिल्लोपटकको नेकपाकोभन्दा शक्तिशाली हुनेछ । पाँच वर्षे नीति र कार्यक्रमसहित दुई दलले हातेमालो गरे यो इतिहासकै सबभन्दा सुखद् क्षण हुनेछ । यसअघि पनि यी दुई दल मिलेर सरकार बनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्