जन सरोकार

जाजरकोट भूकम्प : अस्थायी आवास निर्माणका लागि करिब दश हजार लाभग्राही यकिन

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ । भूकम्प गएको एक महिनापछि सार्वजनिक विवरणअनुसार नगरपालिकाका १४ वटै वडामा नौ हजार नौ सय ६२ घरपरिवार पहिचान भएको सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार अब सोही आधारमा भूकम्पप्रभावितले अस्थायी आवास निर्माणका लागि रकम प्राप्त गर्नेछन् । यसअघि नगरपालिकाका भूकम्प प्रभावित चार हजार पाँच सयले अस्थायी आवास निर्माणका लागि रु २५ हजारका दरले रु ११ करोड २५ लाख प्राप्त गरिसकेका थिए । शाहका अनुसार अब बाँकी पाँच हजार चार सय ६२ ले पहिलो किस्ता वापतको रकम प्राप्त गर्नेछन् ।

नगरपालिकामा हालसम्म निर्माण भएका अस्थायी आवासको तथ्याङ्क सङ्कलन भइनसकेको उहाँले बताउनुभयो । “विभिन्न राजनीतिक दलले स्वयंसेवाका रूपमा अस्थायी आवास निर्माण गरिरहनुभएको छ । केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नुभएको छ । यसको यकिन वितरण नगरपालिकामा आएको छैन । विवरण सङ्कलन गरेर एक दुई दिनभित्र सबै वडा कार्यालयलाई पठाउन भनेका छौँ”, उहाँले भन्नुभयो ।

केही भूकम्पपीडित अस्थायी आवासमा बसे पनि अधिकांश अझै पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । नगरप्रमुख रवि केसीले मङ्सिरभित्र भूकम्प प्रभावित सबैलाई अस्थायी छानामुनि ल्याउने गरी काम भइरहेको बताउनुभयो ।

जिल्लाका छवटै पालिकामा आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित १५ हजार छ सय ८९ का लागि पहिलो किस्ताबापत रु ३९ करोड २२ लाख २५ हजार सम्बन्धित स्थानीय तह विपद् व्यवस्थापन समितिको खातामा पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.