राजनीति

विपिनका आमाबाबुसंग प्रधानमन्त्री प्रचण्डको भेट, रिहाइका लागि अधिकतम पहल भैरहेको जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमास द्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गर्नुभएको छ ।

शुक्रबार सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले कैलालीको धनगढी विमानस्थलमा जोशीका आमाबुबासंग भेट गर्नुभएको हो ।

भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे जिज्ञासा राख्दै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी गराउनुभएको थियो ।

सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन कैलाली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सोही क्रममा जोशी परिवारसँग भेटघाट गर्नुभएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

इजरायल र हमासबीच यद्धबिराम भएर बन्दी रिहा गरेका भए पनि नेपाली विद्यार्थी विपिनलाई भने रिहा गरेको छैन । इजरायली सेना र तेलअविवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.