विश्व समाचार

“जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार”

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताउनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गर्नुभएको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो ।

ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफु राष्ट्रपति निर्वाचित भएमा जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गर्नुभएको थियो ।

ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।”

उहाँले अगाडि भन्नुभएको छ, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्यक रूपमा बर्बाद भइरहेको छ । धेरै परिवारहरू गुमेका छन् । यदि यो जारी रह्यो भने यो धेरै ठूलो क्षति र अझ खराब अवस्थामा परिणत हुन सक्छ ।”

त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

पेन्टागनका अनुसार उक्त प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरी मार हान्न सक्ने हतियार, ट्याङ्क र बख्तरबन्द गाडीका लागि उपकरण र त्यसका सामान समावेश गरिएको छ ।

ट्रम्पले युक्रेनमा आन्तरिक रूपमा अलोकप्रिय सहुलियतसहित शान्तिको लागि दवाब दिनसक्ने चिन्ता छ । जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

“हामी सबै शान्ति चाहन्छौं । तर यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ शान्ति हामी सबैका हसनुपर्छ र रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा अन्य कुनै आक्रमणकारी अव कहिल्यै युक्रेनमा नफर्कने सम्भावनालाई सुनिश्चित गर्नुपर्छ,” जेलेन्स्कीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा महत्वपूर्ण कुरा न्यायपूर्ण शान्ति र सुरक्षाको प्रत्याभूतिको हो । युद्धविराम वा शान्ति सम्झौताले युक्रेनका लागि बलियो सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।”

जेलेन्स्कीले वार्तालाई ‘राम्रो र फलदायी’ भन्दै ट्रम्पको दृढ सङ्कल्पका लागि धन्यवाद पनि दिनुभएको बताइएको छ ।

नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटन समारोहमा भाग लिनुभन्दा ठीक अघि ट्रम्पसँगको जेलेन्स्कीको भेट, अमेरिकी चुनावमा विजय हासिल गरेपछि विश्वका धनाढ्यबाट राजनीतिज्ञ बनेका ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट थियो ।

छलफलप्रति आफ्नो प्रतिक्रियामा म्याक्रोँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शान्ति र सुरक्षाका लागि संयुक्त प्रयास जारी राखौँ ।”

मध्यपूर्वको सङ्कटमा युरोपेली मित्रराष्ट्रहरूले बाइडेनसँग घनिष्ठ सम्बन्ध कायम गरेका छन्, तर ट्रम्पले सहयोगी पश्चिमा राष्ट्र र संयुक्त राज्य अमेरिकालाई अझ टाढा र इजरायललाई नजिकबाट राख्ने सम्भावना छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.