सरकार प्राथमिकतामा छैन, एजेण्डा महत्वपूर्ण हो : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारबारे नसोचेको बताउँदै एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको बताउनुभएको छ ।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने स्पष्ट पार्दै सरकारबारे केही नसोचेको स्पष्ट पार्नुभएको हो ।
त्यस्तै लामिछानेले समानुपातिक सांसद चयनमा चलखेल हुन लागेको भन्दै भएको बिरोध स्वाभावक भएको पनि बताउनुभयो । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रर्दशन गरेका थिए । ्
सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गर्नुभयो ।
“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो”, उहाँले भन्नुभयो, “ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।”
प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उहाँले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताउनुभयो । पार्टीभित्र कोही पनि तलमाथि नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।”
प्रतिक्रिया राख्नुहोस्