जन सरोकार

पूर्व प्रधानाध्यापक ढुंगानालाई पूर्व विद्यार्थीले गरे अभिनन्दन

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंं ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पुरुषोत्तमप्रसाद ढुंगानालाई अभिनन्दन गरिएको छ ।

मंसिर २३ गते शनिबार सोही विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था ‘अरुणोदय पूर्व विद्यार्थी समाज’का तर्फबाट ढुंगानाले विद्यालयको शैक्षिक स्तर उकास्न निर्वाह गर्नुभएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो ।

पूर्व प्रधानाध्यापक ढुंगानालाई समाजका पदाधिकारी लगायत सोही विद्यालयका पूर्व विद्यार्थी तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधिसभा पूर्व सदस्य कृष्ण राई, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिब थापाले अभिनन्दन गरेका थिए ।

स्वास्थ्य समस्याले गर्दा अनौपचारिक रुपमा उहाँको निवास आरुबारीमा समाजका पदाधिकारी तथा पूर्व विद्यार्थीहरु उपस्थित भएर अभिनन्दन गरिएको हो ।

समारोहमा अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष रुपक थापा, सचिव यादब देवकोटा, कोषाध्यक्ष सुभाष आचार्य लगायत पदाधिकारी तथा साधारण सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

वि.सं. २००५ सालमा आरुबारीमा माता भीमकुमारी ढुंगाना र पिता डोलकेश्वर ढुंगानाका पाँचौं सन्तानका रुपमा जन्मनुभएका ढुंगाना २०२८ सालदेखि विद्यालयमा शिक्षकका रुपमा प्रवेश गर्नुभएको थियो ।

उहाँले २०३७ फागुनदेखि २०६२ श्रावणसम्म प्रधानाध्यापकका रुपमा सेवा गरी विद्यालयलाई उपत्यकाकै नमूना सामुदायिक विद्यालयका रुपमा स्थापित गर्न ठूलो योगदान दिनुभएको छ ।

आफ्नो कार्यकालमा निम्नमाध्यमिक तहसम्म मात्र पढाई हुने अरुणोदयलाई निजी स्रोतबाट माध्यमिक तहको अध्यापन कार्य सुरु गराउनुभएका ढुंगानाले आरुबारी र आसपासका शिक्षित र सरकारी सेवामा रहेका विषयगत व्यक्तित्वहरुलाई स्वयंसेवी शिक्षकका रुपमा सेवा गराउन सफल हुनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापकका रुपमा प्रशासनिक जिम्मेवारीसंगै शिक्षण कार्यलाई एकसाथ निरन्तरता दिनुभएका ढुगानाको कार्यकाल विवादरहित, निष्पक्ष, निर्भिक, पारदर्शी र जनउत्तरदायीपूर्ण रहेको अहिले पनि चर्चाको विषय बन्ने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.