खेलविविध

आइटिएफ टेनिस : एलेक्सी र आसकुरा च्याम्पियन

नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई पराजित गर्दै रसियाका एलेक्सी सिबाभएले पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० को दोस्रो सर्किटको उपाधि जित्नुभएको छ ।

आइटिएफ टेनिस

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा एलेक्सीले हाडालाई ६–३, ६–२ ले पराजित गरी पुरुष एकलतर्फ च्याम्पियन बन्नुभयो ।

यसैगरी महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन बन्नुभएको छ । उहाँले भारतकी अर्जान खोराकीवालामाथि ६–२, ६–३ को जित हासिल गर्नुभयो ।

यि दुवै खेलाडी जे–३० को सर्किट एकमा पनि विजयी हुनुभएको थियो । च्याम्पियन खेलाडीहरूले आइटीएफको महत्त्वपूर्ण ३०/३० अङ्क प्राप्त गर्नुभयो ।
विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको बताउनुभयो ।

यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता निर्देशक अजय विष्ट, लगायतले खेलाडीलाई मेडल र पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गरेका थिए । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको टेनिस वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनलिष्टले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क प्राप्त गरेका छन् ।

पोखरामा दुई साता लामो सञ्चालन भएको आइटिएफ जे ३० टेसिन प्रतियोगितामा ११ देशका एक सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.