पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।
परिसूचक बढेपनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ । बुधबार तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । बुधबार बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ ।
जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव ४२, निर्जीवन बिमा एक दशमलव शून्य तीन, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ५७ प्रतिशतले बढेको हो ।
न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया राख्नुहोस्