छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
जाजरकोट, कास्की र नुवाकोटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।
घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गास्थित सडकमा ग.१ ख ३७५४ नम्बरको बस र बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक सुनसरी धरान उपमहानगरपालिका-२० घर भई कास्की पोखरा महानगरपालिका-११ फुलबारी बस्ने ३१ वर्षीय प्रदिप राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै नुवाकोट, किस्पाङ गाउँपालिका-४ भाल्चेबेशीस्थित सडकमा बा.प्र.०१-००३ क ७१८७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ४८ वर्षीय टासी घलेको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्