जन सरोकार

परिवर्तन नेपालको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’

दशकौं अघिदेखि भ्रष्टाचारबिरुद्धको अभियान चलाइरहेको सामाजिक संस्था परिवर्तन नेपालले ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ आज शुभारम्भ गरेको छ ।

पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले महाअभियान सञ्चालन गर्न लागिएको हो ।

महाअभियानमा मौलिकतामाथि भइरहेको अतिक्रमण विरुद्ध देशभर चेतना फैलाउने कार्यक्रम छ । तीन वर्षसम्म चल्ने महाअभियानको नारा ‘हिमाल, पहाड, तराईको सम्पदा र संस्कृतिको नेपाली पहिचान, सांस्कृतिक अतिक्रमण विरुद्ध हाम्रो अभियान’ भन्ने रहेको छ ।

वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले उक्त कार्यक्रमको शुभारम्भ गर्दै नेपाली मौलिक संस्कार, संस्कृति, परम्परा र सम्पदाको जर्गेना गरी मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले आधुनिकताका नाममा पछिल्लो समय अमूर्त संस्कृति लोपोन्मुख बन्दै गएको अवस्थामा सञ्चालन गर्न लागिएको महाअभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभययो ।

वरिष्ठ कलाकार बसुन्धरा भुसालले विविध कला, संस्कृतिले भरिएको नेपाली समाजमा यस क्षेत्रले सबै नेपालीलाई एकताबद्ध गर्ने हुँदा यसको संरक्षणमा महाअभियानको लक्ष्य राम्रो रहेको बताउनुभयो ।

नेशनल डेल्फिक काउन्सिल नेपालका संयोजक बाबुराम अर्याल (श्रीदेव विएल) ले स्थानीय चाडपर्व, लोक संस्कृतिले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएकाले अन्तर्राष्ट्रिय तहमा नेपाली संस्कृति राष्ट्रको गौरब बढाएको बताउँदै यी संस्कृतिको संरक्षणमा हुन लागेको महाअभियानमा आफ्नो संस्थाले सहकार्य गर्ने बताउनुभयो ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले मुलुकको अस्तित्वलाई जीवन्त राख्न कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउँदै सम्पदास्थल आसपास क्षेत्रमा हुने अतिक्रमणले सौन्दर्यमा कमि आउनका साथै ऐतिहासिक महत्व नाश हुने हुँदा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, कलाकार दीपाश्री निरौलालगायतले मुलुकमा सभ्य, सांस्कारिक समाज निर्माणका लागि पूर्वजले निर्माण गरिदिएको नेपाली संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.