मानव तस्करीमा अध्यागमदेखि एयरलायन्सका कर्मचारी र ट्राभल एजेन्सीको संलग्नता
बेरोजगार नेपाली युवाहरुलाई अनेक प्रलोभन दिएर, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा अध्यागमनका अधिकृत, एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सीको संलग्न रहेको खुलासा भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो मंगलबार र आज बुधबार गरी चारजनालाई पक्राउ गरेपछि भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङको पोल बाहिर आएको छ ।
प्रहरीले यो धन्दामा संलग्न आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाइदिने गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार संलग्न व्यक्ति पक्राउ परेसँगै केही एयरलाइन्स र तिनका कर्मचारीमाथि अनुसन्धान सुरू गरिएको छ ।
भिजिट भिसामा जान दुईतर्फी टिकट काट्नुपर्ने भए पनि केही एयरलाइन्स र कर्मचारीको मिलेमतोमा पैसा लिएर फेक रिटर्न टिकट बनाउने भिसा परिवर्तनका लागि कागजात बनाइदिने लगायतको कसुर गरेको पाइएकोले अनुसन्धानको दायरा बढाइएको एसएसपी राठौरले जानकारी दिनुभयो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म यो प्रकरणमा ३२ जना पक्राउ परिसकेको जानकारी दिंदै केही कन्सल्टेन्सी सञ्चालक पनि यसमा संलग्न रहेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू भारी रकम लिएर कन्सल्टेन्सी र ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाउने कार्यमा संलग्न थिए ।
एसएसपी सोमेन्द्रसिंह राठौरले अहिले अनुसन्धानकै क्रममा रहेकाले नक्कली कागजात बनाउने कार्यमा पाँच ट्राभल एजेन्सी संलग्न रहेको र अनुसन्धानका क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने यसमा बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्