जापान

प्रभावकारी बन्दै एनआरएनए जापानको हटलाइन सेवा

जापानमा बसोबास गर्ने नेपालीहरुका विविध समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले सञ्चालन गरेको हटलाइन टेलिफोन सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।

जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको जानकारी लिने गरेका छन् ।

हटलाइन टेलिफोन सञ्चालनको तीन महिनामा मा प्राप्त १ सय ३५ वटा कलमध्य ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिनुभयो ।

उपाध्यक्ष उप्रेतीका अनुसार नेपाली दूतावासद्वारा प्रदान गरिने राहदानीको प्रि इनरोलमेन्ट गर्न नसकिएको, राहदानी बनाउन र नविकरणका लागि आवश्यक प्रक्रिया, जापानमा जन्मेको बच्चाको जन्मदर्ता र राहदानी बनाउने प्रक्रिया, जापानमा विवाह दर्ता, ट्राभल्स डकुमेन्ट र दुतावासको टेलिफोनमा सम्पर्क हुन नसकेको लगायतका विषयमा हटलाइन टेलिफोन सेवामा जानकारी लिने गरेको बताउनुभयो ।

जापानमा रहँदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरी सञ्चालनमा ल्याइएको हटलाइन टेलिफोन सेवामा जापानमा अध्ययनरत नेपाली विद्यार्थीले पनि आफ्ना समस्या र जानकारीको लागि पनि उत्तिकै सम्पर्क गर्ने गरेका छन् ।

हटलाइन टेलिफोन सञ्चालनको संयोजनमा सहजिकरण गरिरहेका एनआरएनए जापानका सचिव अर्जुन थापाका अनुसार हटलाइन टेलिफोन सेवामा प्राप्त कलको आधारमा दोस्रो धेरै कल विद्यार्थीका सम्बन्धमा आउने गरेका छन् ।

त्यसै गरी सबैभन्दा धेरै कल र जिज्ञासा विद्यार्थीको रहेको सचिव थापाले बताउनुभयो । उहाँले भन्नुभयो, विद्यार्थीले समस्याका बारेमा जानकारी स्वरुप १९ कल र छात्रवृत्ति सम्बन्धमा १३ कल प्राप्त भएका थिए । यस अवधिमा समग्रमा सेवाग्राहीसँग १७ घण्टा ६ मिनेट कुराकानी गरिएको थियो।

त्यसै गरी भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि सार्वजनिक गरिएको हटलाइन टेलिफोन सेवामा भिषाका विविध समस्या, कुक पेशामा कार्यरतहरुका समस्या, घरेलु हिंसा सम्बन्धी समस्या, ठगी लगायतका समस्या र जानकारीको बारेमा सोधपुछ र समस्या समाधानको अपेक्षासहित सम्पर्क गर्ने गरेको एनआरएनए जापानले जानकारी दिएको छ ।

सेवा सञ्चालनका अवधिमा घरेलु समस्या सम्बन्धमा १५, भिषा सम्बन्धमा १२, कुक सम्बन्धी समस्यामा ८, कम्पनी सम्बन्धी समस्यामा ५, ठगी सम्बन्धमा २, कोठा खोज्ने प्रक्रियाका सम्बन्धमा २, जापान प्रहरीसँग सम्बन्धितमा २ र अन्य विविध १६ वटा विषयमा आफूलाई परेको समस्या र सामाधानको उपायको जानकारीका लागि हटलाइन टेलिफोनमा सम्पर्क गरेको एनआरएनए जापानले जनाएको हो ।

सार्वजनिक गरेको हटलाइन सेवामा प्राप्त समस्या गुनासो र जानकारीलाई सम्बन्धित निकाय र पक्षसँग समन्वय गराएर अधिकतम समाधानका निम्ति प्रयत्न गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताउनुभयो ।

उहाँले +८१-०८०-६३५२-८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्नका लागि समेत जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

एनआरएनए जापानका महासचिव टिकाराम खरेलले एनआरएनएलाई जापानबासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकून् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको र अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गर्नुभएको छ ।

जापानमा रहेका विदेशी श्रमिकको समस्या सुन्न लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालयले सञ्चालन गरेको हट लाइन सेवामा एनआरएनए जापानले समन्वय गरि सो सम्बन्धी केही समस्या परेमा नेपाली भाषामै कुरा गर्न ०१२०-५३१-४०८ नम्बरको समेत व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.