राजनीति

‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’

नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राख्नुभयो ।

‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख भएको बताउँदै पुनर्गठनको आवश्यकता रहेको औँल्याउनुभयो ।

उहाँले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिष्टहरू, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील तप्का एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाका लागि नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा भएको पटक–पटकका आन्दोलन तथा क्रान्तिमा नेताहरूले धोका दिएको र ठूला भनिएका कम्युनिष्ट पार्टीहरू सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत टिप्पणी गर्नुभयो ।

नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर भएका कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरू बलियो बन्दै गएको छ भन्नुभयो । कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरूले धोका दिएकाले जनविश्वास घट्दै गएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.