फोहर व्यवस्थापन गर्न र खोला अतिक्रमण रोक्न बालेनले मागे प्रधानमन्त्रीको साथ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहले महानगरले गरेका राम्रा कामहरु सर्बले देखिरहेकाले बाँकी रहेका महत्वपूर्ण काम सबै मिलेर सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
बिहिबार २९ औं महानगर स्थापना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै महानगरप्रमुख साहले अहिले महानगरको मुख्य तीन समस्या रहेको र यसको समाधानका लागि प्रधानमन्त्रीबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख साहले फोहरमैलाको दीर्घकालीन व्यवस्थापन, खोला अतिक्रमण र तीनकुनेको मुआब्जाका विषयमा तीनैतहको सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।
सम्बोधन गर्दै प्रमुख साहले भन्नुभयो, ‘महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन । विशेष गरी तीन वटा विषयमा ठूलो चुनौती रहेको छ । यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस् ।’
उहाँले काठमाडौं माहानगरपालिकाले गर्ने कामहरु केही अझै बाँकी रहेको र तीमध्ये तीन वटा विशेष कामहरु रहेको प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।
उहाँले तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने बताउँदै फोहर व्यवस्थापन ५०, सय र हजार वर्षको लागि गर्नुपर्ने समेत बताउनुभयो ।
प्रमुख साहले यी समस्या महानगरपालिका, प्रदेश सरकार र संघ सरकार मिलेर व्यवस्थापन गर्न सकोस् भन्दै आफूहरुको कार्यकाल साढे तीन वर्ष रहेको र यही समयभित्र यी काम सम्पन्न हुने आशा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब आफ्नो कार्यकाल साढे ३ वर्ष बाँकी छ सोही अवधीमा महानगरका समस्या समाधानमा सहयोग पाउनेमा आशावादी छु ।”
प्रतिक्रिया राख्नुहोस्