राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध काठमाडौँ गुर्खाजले एक विकेटको रोमाञ्चक जित निकालेको छ ।
जितसँगै काठमाडौँको प्लेअफ पग्ने सम्भावना जिवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १७ रन बनाएको थियो ।
विराटनगरको लागि राजेश पुलामी मगरले २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए भने दीपक बोहराले २४ बलमा दुई चौकासहित २० रन जोडे । त्यस्तै स्कट एडवार्डले १५ रन जोड्दा बसिर अहमदले १३ र निकोलनस किर्टोनले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौँको लागि जेरार्ड इरास्मसले चार विकेट लिए भने दीपेश कँडेलले दुई विकेट लिँदा साहव आलम, करण केसी र डानियल डाउथवेटको भागमा समान एक-एक विकेट रह्यो । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौँले १८ दशमलव एक ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
काठमाडौँका लागि प्रतिक श्रेष्ठ ३४ बलमा दूई चौका र दुई छक्काको मद्दतमा ३९ रन बनाए भने शंकर राना १६ रनमा अविजित रहे । यस्तै रसिद खानले १४ रन जोड्दा जेरार्ड इरास्मसले १२ र माइकल लेभिटले १० रन बनाए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सोलको भागमा समान दुई-दुई विकेट रह्यो । लिगको अन्तिम खेलपछि काठमाडौँले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमाडौँ शीर्ष चारमा पुग्ने सम्भावना हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्