क्रिकेटखेल

स्कट कुगलाइनले पाँच विकेट लिएपछि पोखराविरुद्ध सुदूरपश्चिमको रोमाञ्चक जित

स्कट कुगलाइनले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभञ्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच रनको रोमाञ्चक जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

एनपिएल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको हो । सुदूरपश्चिमको लागि आरिफ शेखले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै ४२ रनमा अविजित रहे भने ब्रान्डन म्याकमुलेनले १६ बलमा एक चौका र दुई छक्काको मद्दतमा २३ रन बनाए ।

त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले २० रन जोड्दा विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन बनाए । पोखराको लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रेमोन रेइफर, सगर ढकाल र माइकल लिस्कको भागमा समान एक-एक विकेट रह्यो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य लिएर मैदान उत्रेको पोखरा १९ दशमलव ४ ओभरमा एक सय ४८ रनमा समेटियो ।

पोखराका लागि आन्द्रेस गोसले २१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए भने रेमोन रेइफरले २८ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३३ रन जोडे । यस्तै किरणकुमार ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन जोड्दा दिनेश खरेलले १५ र जान मलिकले १० रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगलाइनले ३.४ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर पाँच विकेट लिए भने हरमित सिंहले तीन विकेट लिँदा सेफ जैबको भागमा एक विकेट रह्यो । जितसँगै सुदूरपश्चिम ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।

जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिमले अब लिगको अन्तिम खेल भोलि (सोमबार) कर्णाली याक्ससँग नेपाली समय अनुसार बिहान ९ बजे खेल्नेछ । यता सात खेलमा चार अंक जोडेको पोखरा सातौं स्थानमा रहेर लिगमा आफ्नो यात्रा अन्त्य गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.