राजनीति

सरकारले स्वदेशमा नै युवा शक्ति बस्न सक्ने गरी व्यवस्था गर्नुपर्छ  : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले युवाहरुको अन्तर्निहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न सक्ने गरी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

सभामुख घिमिरे

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिजका कतिपय अभियान राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गर्नुभयो । उहाँले युवामैत्री नीति, कानुन र योजना निर्माणमा गर्नुपर्ने बताउनुभयो । “युवाको पक्षमा कानुन बनाउन नेपालको संसद् प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो, “अहिलेका युवामा देखिएका निरासा अन्त्य गर्नुपर्छ ।” उहाँले जेसिजको मूल्य मान्यता अझै बढी पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताउनुभयो ।

सभामुख घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य सङ्घ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो । नेपाल जेसिजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताउनुभयो । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिजको महाधिवेशनले राष्ट्रिय सन्देश दिएको बताउनुभयो ।

जेसिजका पूर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैँजुले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको बताउनुभयो । ‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित भएको महाधिवेशनमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, नेपाल पत्रकार महासङ्का अध्यक्ष विपुल पोखरेल लगायतले जेसिजको कार्यबाट सबैले सिक्नुपर्ने बताउनुभयो । महाधिवेशनमा नेपाल जेसिजका एक सय ७८ शाखाबाट एक हजार दुई सय ४६ प्रतिनिधि सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.