एमालेको अपानि : महत्वपूर्ण जिम्मेवारी पाए यी नेताले
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले १० औं महाधिवेशनबाट नयाँ कार्यसमिति चुनिएसंगै नेताहरुलाई जिम्मेवारी तोक्दै अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।
बिहिबार अपानि जारी गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गगर्ने गरी विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।
अपानिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ भने एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।
त्यसै गरी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाउनुभएको छ भने महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन र उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाउनुभएको छ ।
त्यसै गरी उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग र विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ भने अर्का स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्