क्रिकेटखेल

धनगढी स्पोर्टस् क्लबलाई पराजित गर्दै सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्‍यो । सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

धनगढी स्पोर्टस् क्लबलाई पराजित गर्दै सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

धनगढी स्पोर्टस्को ब्याटिङमा वसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रन योगदान दिएता पनि जितका लागि पर्याप्त हुन सकेन । लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्टस्ले ३६ रनमा सुरुआत पाँच विकेट गुमायो । छैटौँ विकेटका लागि वसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे । भुवनको विकेटपछि सातौँ विकेटका लागि वसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे । अठारौँ ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिए ।

जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्टस् क्लबसँग एक विकेट बाँकी रहेको थियो । अन्तिम ओभर बलिङ गरेका सन्दीप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा दुई रन दिएपछि तेस्रो बलमा विकास आग्रीको रूपमा धनगढी स्पोर्टस्ले अन्तिम विकेट गुमायो । सत्यवतीको बलिङमा प्लेयर अफ द म्याचसमेत घोषित अभिषेकले सर्वाधिक चार विकेट लिए, जुन क्रममा चार ओभरमा १५ रन खर्चिए । तृतराज दासले दुई तथा फिर्दोस अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा छ विकेट क्षतिमा एक सय २६ रन बनायो । सत्यवतीको ब्याटिङमा पाँचौँ नम्बरमा ब्याटिङ गरेका सन्दीप रजालीले सर्वाधिक ४१ रन बनाए । जुन क्रममा उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा चार चौका र एक छक्का प्रहार गरे । फिर्दोस अन्सारीले २२, सन्तोष कार्की र समिर कार्कीले समान १० रन बनाए ।

पावरप्लेमा तीन विकेट गुमाएको अवस्थाबाट चौथो विकेटका लागि सन्दीप रजाली र फिर्दोस अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौँ विकेटका लागि तृतराज र समिर कार्कीले अविजित ३६ रनको साझेदारी गरे । धनगढी स्पोर्ट्स क्लबको बलिङमा दीपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले दुई–दुई विकेट लिए ।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफीसहित रु दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्टस् क्लबले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्टस् क्लबका कप्तानसमेत रहेका भुवन कार्की घोषित भए । कार्कीले पाँच खेलमा १२ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान शुक्लाफाँटा ब्ल्याक बक्सका किरण ठगुन्ना घोषित भए जसले तीन खेलमा एक सय ३४ रन बनाए । प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.