नेपालमा पहाडी तथा हिमाली क्षेत्रमा चरण गरी हुर्केका खसी, बोका, च्याङ्ग्रा तथा भेंडाको मासुको माग बढ्दै गएको छ । विगतमा च्याङ्ग्रा–भेडाको मासु खसी–बोकाभन्दा सस्तो हुन्थ्यो भने अहिले यसको माग बढसंगै महंगो पनि हुँदैआएको छ ।
दशैं, तिहार जस्ता ठूला चाडपर्वमा च्याङ्ग्राको माग उच्च हुने गरेको छ । अहिले स्वदेशमा मात्र होइन विदेशमा पनि त्यस्ता पशुको मासुको माग बढ्न थालेको बताइएको छ ।
हिजो सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको जानकारी दिनुभएको हो ।
चीनमा राँगा एवं भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताउनुभयो । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उहाँको जोड थियो ।
“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ,” मन्त्री अधिकारीले भन्नुभयो ।
प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने प्रतिबद्धता उहाँको थियो । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छीपालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीले बताउनुभयो ।
हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच राँगाको मासु निर्यात गर्ने विषयमा आज सम्भौता भएको हो । सुरक्षितरुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्