जन सरोकार

नेपाल आएर डकैती गर्दै भाग्ने भारतीय डाँका पक्राउ

मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपाल-भारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसैनविरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर रु ३८ लाख लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए ।

त्यसैगरी २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई रु नौ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । तर सबै घटनामा मुद्दा दर्ता छैन ।”

भारतमा बसी नेपालमा सङ्गठित अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ । उक्त समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

उक्त समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.