जन सरोकार

वडा अध्यक्षले कुटे प्रधानाध्यापक

जुम्लाको तिला गाउँपालिका–८ पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।

“विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौँपटक बैठक बस्दा पनि सहमति हुन सकेन”, प्रधानाध्यापक बस्नेतले भन्नुभयो, “उनीहरूले चुनाव गर्नैपर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो ।

तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।”

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताउनुभयो । प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समूहले अस्थायी तथा करारमा रहेका शिक्षकलाई प्रधानाध्यापक बनाउन दबाब दिँदै आएका छन् । उनीहरूले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौती भएको उहाँले दुःखेसो गर्नुभयो ।

यता वडाध्यक्ष आँसे बस्नेतले रासससँग कुरा गर्दै झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “झगडा सामाजिक विषयमा भएको हो । अहिले व्यक्तिगतजस्तो भयो । जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो, गलत जस्तो भयो । अब मिलेर जाने प्रयास गरौँला ।”

पीडितले अस्थायी/करार शिक्षकलाई प्रधानाध्यापक बनाउन चाहेको विषयमा भन वडाध्यक्ष बस्नेतले केही बोल्नुभएन । विद्यालय व्यवस्थापन समितिको चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रधानाध्यापक र वडाध्यक्षको झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

यद्यपि प्रधानाध्यापक घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेको सुनिएको उहाँले जनाउनुभयो । शुक्रबार भएको विवादका कारण उक्त विद्यालयको चुनाव स्थगन भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.