जनप्रतिनिधिले निःस्वार्थ रूपमा काम गरे मात्रै जनताको हित हुन्छ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले निःस्वार्थ रूपबाट गरेको कामबाट सबै वर्गका जनताको हित हुने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ मङ्सिर २८ गतेदेखि आयोजना गरेको पाँचदिने भक्तपुर महोत्सवको मंगलबार आयोजित समापन कार्यक्रममा उहाँले अरूको भरमा देश विकास गर्ने सोचले कहिल्यै देशलाई आत्मनिर्भर बनाउन नसक्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदा र जीवनशैलीको अवलोकन गर्न बर्सेनि लाखौँ विदेशी पर्यटकले भक्तपुरको भ्रमण गर्ने गरेको बताउँदै पाँचदिने महोत्सवमा करिब आठ लाख अवलोकनकर्ताले महोत्सव अवलोकन गरेको बताउनुभयो ।
उहाँले महोत्सवकै क्रममा दैनिक करोडौँ रूपैयाँ बराबरको आर्थिक कारोबार भएको बताउँदै भक्तपुर अवलोकन गर्नेको लागि नयाँनयाँ दृश्य, स्वाद र ज्ञान एकसाथ देखाउने अवसर भक्तपुर महोत्सवले प्रदान गरेको बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले महोत्सवले भक्तपुरको पहिचान अझै बढाएको बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२५ मा भक्तपुरमा सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गर्नुभयो ।
उहाँले त्यसबेला चीनबाट उत्कृष्ट सांस्कृतिक टोली भक्तपुर आउने, चिनियाँ संस्कृति र नेपाली संस्कृतिबीच सांस्कृतिक आदानप्रदान गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्