छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
कैलाली, दाङ, सुनसरी, कास्की र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल भे.१ ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका-१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ ।
दुर्घनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल से.६ प ८७७७ नम्बरको स्कुटरसँग ठोक्किएर रोकी राखेको उक्त गाडीसँग समेत ठक्कर खाई दुर्घटना भएको थियो । गाडी चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-७ हात्तीखौवास्थित सडकमा रा.१ च १३०० नम्बरको भ्यान र रा.७ प ११३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लमही नगरपालिका-५ बस्ने ५० वर्षीया लिला भुसालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता सुनसरी, इटहरी उपमहानगरपालिका-१३ काली मन्दिरस्थित सडकमा प्रदेश १-०१- ००२ त ०२४९ नम्बरको ट्याक्टरले प्र.१-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाकल चालक मोरङ रंगेली नगरपालिका-६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता दाङ, राप्ती गाउँपालिका-८ बिजौरीस्थित सडकमा रा.१ क १४१८ नम्बरको बसले रा.५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-८ बिजौरी बस्ने ३१ वर्षीय कृष्ण बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा बागमती प्रदेश ०१-००६ ख ५४४३ नम्बरको बस र ग.२१ प ६४७४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका-३३ भरतपोखरी बस्ने ६४ वर्षीय डम्बर बहादुर पुनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी सप्तरी, विष्णुपुर गाउँपालिका-१ खुरूरिया चोकस्थित सडकमा राजबिराजबाट सिरहातर्फ जाँदै गरेको स.९ प ९८३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बाजिपुर बस्ने ५५ वर्षीया सोमनी देवी मण्डलको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी एक जना पैदलयात्रीको छिन्नामस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्