जन सरोकार

यसरी पत्ता लगाइन्छ चोरीका सवारी साधन

नेपालमा चोरी हुने सवारीसाधनमा अधिकांश मोटरसाइकल रहने गरेको छ । चोरी भएको मोटरसाइकल नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको पाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी स्वरुप नै परिवर्तन गरेर मोटरसाइकल सञ्चालन भएकाले पनि मोटरसाइकल फेला पार्न निक्कै कठिनाइ हुने गरेको छ । यद्यपि प्रहरीले मोटरसाइकलको इन्जिनको नम्बरका आधारमा धेरै मोटरसाइकल फेला पारेर धनीलाई बुझाउने गरेको छ ।

चालु आर्थिक वर्षको मङ्सिरसम्मको पाँच महिना मसान्तसम्ममा मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका एक सय ९४ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उक्त अवधिमा मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको उहाँले बताउनुभयो । उनीहरू मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चलाइरहेको अवस्थामा पक्राउ परेका थिए ।

यसरी पक्राउ पर्नेमा रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगर पनि रहेका छन् ।

उनीहरूलाई चोरीको मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको भट्टले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टका अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौँको जरङ्खु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जैबहादुर बोहरा, काठमाडौँ कोटेश्वर बस्ने सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखीया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा स्याङ्तान पनि पक्राउ परेका छन् ।

प्रहरीले सुरुमा जैबहादुरलाई बाप्र–०२–०२३ प ९६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो । उनीसँगको थप अनुसन्धानका क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र ०२–०३० प ४५८० नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको भट्टले बताउनुभयो ।

यसैगरी बाग्मती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौँ सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगरले ललितपुर महानगरपालिका–९ मङ्गल बजार बस्ने धादिङ थाक्रे गाउँपालिका–७ का कञ्चन खत्रीको मोटरसाइकल चोरी गरेको पाइएको छ ।

उनीहरूले उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बाप्र ०२–०१९ प ९५६४ नम्बर राखेर प्रयोग गरी हिँडिरहेका बेला ललितपुर ताल्छिखेलबाट पक्राउ गरेको भट्टले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा ट्राफिक प्रहरीले खोजी अभियान तीव्र पारिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.