कतारमा सम्पन्न विश्वकप फुटबल अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ । विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोल १७२ गोलको कीर्तिमान बनेको छ ।
आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए ।
फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो ।
सन् २०२२ को विश्वकपमा १७२ गोल भएको छ । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १७१ गोलभन्दा यो एक गोल मात्र बढी हो ।
स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ गोलरहित बराबरी खेल भएका थिए ।
सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ । फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ ।
एम्बाप्पेलाई गोल्डेन बुट, मेस्सीलाई गाल्डेन बल
कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले सुनौलो जुत्ता (गोल्डेन बुट) पाउनु भएको छ । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाउनुभएको छ ।
दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
विश्वकपका सात खेलमा आठ गोल गरेका पेरिस सेन्ट जर्मेइन (पीएसजी)का २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जित्न सफल हुनुभएको छ । मेस्सी विश्वकप कै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।
अर्जेन्टिनाले फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि मेस्सी सर्वोत्कृष्ट खेलाडी बन्नुभएको थियो । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिनुभएको छ ।
फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको ‘गोल्डेन ग्लोभ्स’ पाउनुभएको हो ।
अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल हुनुभएको छ । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा दुईसहित कूल ७ गोल गर्नुभयो भने तीन गोलका लागि सहयोग गर्नुभएको थियो । खेलमा मेस्सीको जादुले अर्जेन्टिनासँग खेलेका सबै टोलीलाई तर्साएको थियो ।
प्रतिक्रिया राख्नुहोस्