जन सरोकार

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

पुसको पहिलो साता नपुग्दै सुरु भएको शितलहरका कारण तराईको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । चिसोका कारण अति विपन्न समुदायलाई ज्यान बचाउनै सकस भैरहेका बेला सर्लाहीमा दुईजनाको मृत्यु भएको छ ।

समाचार अनुसार जिल्लाको हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश माझी मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

केही वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो । घरको दुई वटा कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबन्डा गर्नुभएको थियो ।

एउटा कोठामा मृतक रमेश, उहाँकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दसहित पाँच जना बस्दैआएका थिए । क्रियापुत्री बस्नुभएका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढने ओछ्याउने नभएकाले भुईँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङ्ग्रिएर मृत्यु भएको बताउनुभयो ।

पिडारी बजारमा क्लिनिक खोलेर बस्नुभएका अहेब दिनेश साहले मङ्सिर २५ गते बिहान उपचारका लागि आफू पुग्दा रमेशको कठ्याङ्ग्रिएर ज्यान गइसकेको बताउनुभयो ।

रमेशका छिमेकी आशादेवी माझीले न्यानो नपाउँदा रमेशको कठ्याङ्ग्रिएर ज्यान गएको र गाउँका अन्य मुसहरहरूको पनि लगाउने न्यानो कपडा र ओढने ओछ्याउने नहुँदा समस्या रहेको बताउनुभयो ।

जनकपुरमा इँटा भट्टामा काम गर्ने रामकेबलले मङ्सिर २३ गते साँझ चिसोले कठ्याङ्ग्रिएर बुवाको मृत्यु भएपछि घर आएर किरियापुत्रीमा बसेको बताउनुभयो । रामकेवलको पाँच जनाको परिवार अहिले फुसको छानो भएको कच्ची घरमा बसेर दैनिकी गुजारी रहेको छ ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले चिसोले कठ्याङ्ग्रिएर मानिसको मृत्यु भएकोबारे प्रहरीमा कुनै जानकारी नआएको बताउनुभयो ।

प्रहरीमा जानकारी आएमा मुचुल्का गरेर मृतकको शव पोष्टमार्टमका लागि पठाइने र त्यसपछि मात्रै मृतकको परिवारलाई नेपाल सरकारले दिने राहत मिल्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.