जन सरोकार

नाबालिक छोरीको विवाह गरिदिने आमासहित पाँचजना पक्राउ

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो ।

“बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

गत मङ्सिर २९ गते बालिकालाई उनकी सानिआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उहाँले बताउनुभयो ।

उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.