विश्व समाचार

सिरियामा ‘आशाको ज्योति’ देखेको महासचिव गुटेरेसको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार सिरियामा राष्ट्रपति बशर अल–असदको शासनको पतनपछि ‘आशाको ज्योति’ रहेको तर अगाडि महत्त्वपूर्ण चुनौतीहरू रहेको चेतावनी दिनुभएको छ ।

महासचिव गुटेरेस

उहाँले सिरियाको सैन्य पूर्वाधारमा इजरायलले गरेको व्यापक आक्रमण देशको सार्वभौमसत्ताको ‘उल्लङ्घन’ भएको पनि उल्लेख गर्दै तिनीहरूलाई रोक्न आह्वान गर्नुभयो ।

“मध्यपूर्व धेरै आगोले भष्म भइरहेको छ तर आज सिरियामा आशाको ज्योति छ र त्यो ज्योति निभ्न दिनुहुँदैन”, उहाँले भन्नुभयो । असदको सरकार पतन भएपछि इजरायलले देशको वायु सेना, नौसेना र हतियार भण्डारसहित सैन्य स्थलहरूमा हवाई आक्रमण गर्यो ।

“व्यापक इजरायली हवाई आक्रमण जारी छ । यी सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको उल्लङ्घन हुन् र यसलाई रोक्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको अध्यक्षतामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकअघि गुटेरेसले भन्नुभयो ।

महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय समुदायले सिरियामा लागु भएका प्रतिबन्धहरू खुकुलो पार्ने दिशामा पहिलो कदम चाल्ने सम्भावना पनि उठाउनुभयो ।

“त्यहाँ कम्तिमा पहिलो इशारा हुनुपर्छ – सबै प्रतिबन्धहरू हटाउनका लागि सर्तहरू पूरा नभएसम्म सिरियाली जनतासँग एकता देखाउने पहिलो इशारा”, उहाँले भन्नुभयो ।

अल–कायदामा निहित र टर्कीद्वारा समर्थित इस्लामवादी एचटिएस आन्दोलनले दमास्कसलाई तीव्र गतिमा आक्रमण गरी कब्जा गर्यो । एचटिएसले वर्षौंको गतिरोधपछि यस महिना शक्तिशाली असदलाई अपदस्थ गरेपछि अल्पसङ्ख्यकहरूको रक्षा गर्ने वाचा गरेको छ ।

तर अन्तर्राष्ट्रिय समुदायहरू सिरिया वा एचटिएसका सदस्यहरूमाथि लगाइएको प्रतिबन्धहरू हटाउन कुनै हतारमा छैनन् । समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.