देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

लमजुङको मालिङमा बिहीबार क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पुर्याइने बताउनुभयो ।
जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाइने उहाँको भनाइ थियो । इन्टरनेट र टेलिफोन सेवा विस्तारपछि यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिइने मन्त्री गुरुङले बताउनुभयो ।
अहिलेको समय सूचना प्रविधिको भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै समुदायिक विद्यालयमा कम्युटर ल्याब उपलब्ध गराइने उहाँले उल्लेख गर्नुभयो । हालसम्म १० सामुदायिक विद्यालयमा १०-१० थान कम्पुटर उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्