सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गयो
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको आरोप लगाउनुभएको छ ।
महामन्त्री सिंहले उहाँले देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने पनि बताउनुभयो ।
शुक्रबार सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा महामन्त्री सिंहले सहकारीको रकम अपचलन गर्ने जो कोही भए पनि छानबिन गरी सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्छ ।”
उहाँले भन्नुभयो, “धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ, सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ, लाखौँ जनताको बिचल्ली भएको छ, उहाँहरूलाई न्याय दिनुपर्छ ।”
प्रतिक्रिया राख्नुहोस्