राजनीति

कांग्रेस संसदीय दलको नेताका लागि पुस्तान्तरणको भीडन्त

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संसदय दलको नेताका लागि पार्टीमा पुस्तान्तरणको भीडन्त हुँदैछ । उमेरले ८० पुग्नै लाग्नुभएका सभापति शेरबहादुर देउवा र उहाँभन्दा झण्डै आधा कम उमेरका महामन्त्री गगन कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

पार्टीमा लोकतान्त्रिक अभ्यास जीवन्त हुनुपर्छ र पुस्तान्तरण हुनुपर्छ भन्दै तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालासंग हरेक मोर्चामा प्रतिस्पर्धामा उत्रनुभएकाा सभापति देउवा अहिले आफैं सो अवस्थाको शिकार हुनुभएको छ ।

मुलुकको सबभन्दा पुरानो र सम्पन्न निर्वाचनबाट सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको छ । समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.