प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गर्नुभएको छ ।
ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताउनुभयो ।
बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराउनुभयो । उहाँले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गर्नुभएको थियो ।
प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उहाँले सभाको कारबाही अघि बढाउनुहुने छ । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ ।
ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२:५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पार्नुभएको प्रस्तावमा स्वीकृति दिएर आजैदेखि कार्य आरम्भ गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्