जन सरोकार

काठमाडौँ उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

सिसीटिभी

टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको बुधबार शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“काठमाडौँ र ललितपपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवाकेन्द्र र प्रहरी प्रभाग गोँगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले प्रहरीको उपस्थिति जहाँ हुन्छ त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताउनुभयो ।

नौ आना जग्गामा रु चार करोड ५० लाखको लगानीमा बन्न लागेको उक्त भवन साढे चार तल्लाको हुने सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । उक्त भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले एक वर्ष लगाएर निर्माण गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.