कर्पोरेट/पर्यटन

शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए

म्याग्दी जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् ।

मङ्सिर–पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । वसन्त र शरद ऋतु आरोण र पदयात्राका लागि उपयुक्त याम हुन् ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिटि ‘ट्रेकिङ’ कम्पनीबाट आएका चार आरोहीहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका बताउनुभयो ।

“नारच्याङबाट गाडीमा हुमखोला पुगेका स्पेन, इटली र इराकका चार जना पर्वतारोही त्यहाँबाट पैदलयात्रामार्फत आधार शिविरतर्फ गएका जानकारी आएको छ”, उहाँले भन्नुभयो, “शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि थाहा पाएका छैन ।”

नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोही केहीदिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले जानकारी दिनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।

समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।

दशैं, तिहारको समयमा करिब पाँच हजार पर्यटकले आधार शिविर क्षेत्रको भ्रमण गरेका उल्लेख गर्दै उहाँले चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा हिउँ जम्न थालेपछि पर्यटकको आगमन घट्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.