भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने छौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताउनुभएको छ । पार्टीको राप्ती नगर कमिटीको भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो ।
![अध्यक्ष नेपाल अध्यक्ष नेपाल](https://www.nepaljapan.com/wp-content/uploads/2023/12/madhav-1-e1703210144647.jpg)
“हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छाैँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो । बिना पैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।” पार्टीलाई नयाँ उचाइमा पु¥याउनका लागि सबै नेता/कार्यकर्ता गाउँ, टोलसम्म पुगेर जनताका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले जनताको सङ्घर्षबाट नेपाल सङ्घीय लोकतान्त्रिक मुलुकका रुपमा अगाडि बढेको बताउँदै जनताका उपलब्धि खोस्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब जनताका दिन सुरु भएका छन् । मधेशी जनताको छोरो राष्ट्रपति बन्नसक्ने अवस्था हामीले बनाएका छांँै । नेपाली छोरी राष्ट्रपति बन्ने सुनिश्चित बनाएका छौँ । यो हामीले जनताको शक्तिको उपजमा प्राप्त गरेका हौँ ।”
भेला आयोजक कमिटीका अध्यक्ष राम सेढाइँको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका उपमहासचिव गङ्गाराज तुलाधर, बागमती प्रदेश सदस्य सुमिता डल्लाकोटी, राप्ती नगरपालिकाका प्रमुख एवं नेकपा समाजवादी जिल्ला सचिवालय सदस्य शमशेर लामालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । भेलाले रामकृष्ण पण्डितको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्