जन सरोकार

विदेशी महिला लागूऔषध तस्करीमा…

नेपालमा विदेशी महिलाहरु लागूऔषध तस्करीमा संलग्न रहेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई पक्राउ गरी कारवाही थालेको छ ।

पक्राउ

एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेशीहरू भने अन्तरदेशीय लागूऔषध तस्करमासक्रिय रहेको पाइएको छ । त्यसमा विदेशी महिलासमेत रहेका छन् ।

ती महिला फरकफरक मुलुकबाट आएर नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध कारोबार गर्न खोजेका खुलेको छ । यस्ता तस्करले नेपालीलाई प्रयोग गरेर लागूऔषध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार एउटा घटनामा अवैध लागूऔषध ३३ किलो चरेशसहित चार जना पक्राउ परेका छन् । प्रहरीले आज सार्वजनिक गरेको पहिलो घटनाअनुसार भारतीय नागरिकसहितको मिलेमतोमा चार जना मिलेर चरेस तस्करी गर्न लाग्दा चार जना पक्राउ परेका छन् ।

काठमाडौँबाट विदेशमा लागूऔषध चरेसको तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ देउराली सडक किनाराबाट सोही ठाउँ बस्ने अल्कबहादुर तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट बा १९ प ३८०४ नम्बरको मोटरसाइकलको पछाडि सुटकेसभित्र लुकाइ ल्याएको अवस्थामा १० किलो चरेस बरामद गरिएको थियो ।

तामाङसँग थप अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध धादिङबाट काठमाडौँ ल्याइदिने थाक्रेका २७ वर्षीया स्यानी चेपाङ र सोही ठाउँकी पम्फे चेपाङलाई पनि पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । त्यसपछि तीनै जनासँग गरिएको अनुसन्धानकाक्रमा नेपालबाट उक्त लागूऔषध भारतसम्म पुयाउने सक्रिय रहेको पाइएपछि मिलेर भारतमा चरेस कारोबार गर्ने गरेको खुलेको थियो ।

सो क्रममाकाठमाडौँको नागर्जुन बस्ने भारतका शर्राफ ग्याल्ट्सेनसमेतलाई पक्राउ गरिएको छ । उनले आफ्नो सुटकेसको तल फल्स बटम बनाएर चरेश तस्करी गर्न लागेको समयमा तीन वटा सुटकेस बरामद गरिएको थियो । उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

त्यस्तै लागूऔषध कारोबारमा सङ्लग्न रहेका दुई विदेशी महिलालाई पनि पक्राउ गरिएको व्यूरोका प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय तस्कर नियन्त्रण तथा अनुसन्धानका लागि ‘क्रिमिनल प्रोफाइल’ बनाउने क्रममा हवाइमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने शङ्कास्पद विदेशी नागरिकको निगरानी गर्दै जाँदा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा युक्रेनी नागरिक ३२ वर्षकी डारिया एन्टेन्को र थाइ नागरिक आर्या फोनोक रहेका छन् । यही पुस ६ गते फ्लाइ दुबईमार्फत ब्राजिलबाट दुबई हुँदै काठमाडौँ आएकी ३२ वर्षकी युक्रेनी नागरिक डारियाको गतिविधि शङ्कास्पद लागेपछि निगरानी गर्ने क्रममा काठमाडौँको ठमेलस्थित होटलबाट पक्राउ गरिएको थियो ।

उनको साथमा रहेको दुई वटा सुटकेशभित्र फल्स बटम बनाएर लुकाई राखेको अवस्थामा पाँच किलो ६०० ग्राम लागूऔषध कोकिन, ३०० अमेरिकी डलर, ४८० थाई भाट र रु पाँच हजार बरामद गरिएको छ ।

उनीसँगको अनुसन्धानका क्रममा कोकिन लिन थाइल्याण्डबाट मलेसिया हुँदै थाइ नागरिक आर्या नेपाल भित्रिएको थाहा पाएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको खड्काले बताउनुभयो । उनीहरू सबैलाई म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान जारी रहेको छ ।

यसअघि प्रहरीले अमेरिकाबाट पार्सल गरी हुलाकहुँदै गाँजा र चरेस तस्करी भइरहेको तथ्य फेला पारेको थियो । उक्त घटनामा सङ्लग्न रहेका केही व्यक्तिलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारवाही भएको छ ।

यसरी १० किलोभन्दा माथि गाँजा तस्करी गर्ने व्यक्तिलाई दुईदेखि १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा कोकिन कारोबार गर्नेलाई जन्म कैदसम्म हुन सक्ने तथा पाँचदेखि २५ लाखसम्म जरिवानासमेत लगाउन सकिने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.