राजनीति

भ्रष्टाचार न्यून गर्न पत्रकारहरुको भूमिका महत्त्वपूर्ण : उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नेपालमा पनि पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।

“हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।” उहाँले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो । उहाँहरुलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू १० लाख सहयोग प्रदान गर्नुभएको छ ।

कार्यक्रममा सम्मानित एवं संस्थापक सचिव बराल र कोषमा सहयोगकर्ता विनोद बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महासङ्घ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सुशीला सङ्ग्रौला, औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.