कर्पोरेट/पर्यटन

विमानस्थलमा विमान अवतरण गर्दा उत्सव नै ठान्नुपर्ने अवस्था

विमानस्थलमा विमान उडान र अवतरण हुनु स्वाभाविक मानिए पनि नेपालमा भने विमानस्थलमा विमान अवतरण गर्दा ठूलै उत्सव जस्तो हुने गरेको छ ।

यस्तै अवस्थामा रहेको छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । संचालनमा आएको दुई वर्ष बितिसक्दा पनि नियमित उडान हुन नसकेको यो विमानस्थलमा यदाकदा चार्टर विमान अवतरण हुँदा ठूलै समाचार पनि बन्ने गरेको छ ।

यस्तै भयो बिहिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यहाँ चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।

चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.