सरकारको पाँच महिनाको कामबाट एमाले सन्तुष्ट
संसदका दुई ठूला दल मिलेर बनेको सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कांग्रेससंगको सत्ता सहयात्राको पाँच महिनामा सरकारका काम कारबाहीबाट सन्तुष्ट रहेको बताएको छ ।
बिहिबार सम्पन्न सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहकार्यमा पाँच महिना सरकारले गरेको काममा सन्तुष्टि व्यक्त गरेको निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, “यो पाँच महिनामा अवधिमा महत्त्वपूर्ण काम अघि बढेकामा बैठकले सन्तुष्टि पनि व्यक्त गरेको छ । सरकारका काममा थप गति ल्याउनुपर्ने धेरै सुधारका काम अगाडि बढाउनुपर्ने बोधसमेत बैठकले गरेको छ ।”
उपमहासचिव ज्ञवालीले सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सुधार देखापरेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएर ऐन बनेर आयोग बन्ने प्रक्रियामा रहेको बताउनुभयो ।
त्यस्तै बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली कांग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ । सो कार्यदलले संविधान र सङ्घीयता कार्यान्वयनको समग्र समीक्षा गर्ने बताइएको छ ।
यसै गरी बैठकले संसद्मा रहेका विचाराधीन रहेका विधेयकलाई छिटो टुङ्ग्याउनका लागि दुई दलका चार/चार जना पदाधिकारी रहेको कार्यदल बनाउने निर्णयसमेत गरिएको छ भने संसद्मा विधेयक लामो समय अड्किरहने अवस्थाको अन्त्य गर्नका लागि क्यालेण्डर बनाउने पनि सहमति भएको छ ।
त्यसै गरी संसदीय छानबिन समितिले सिफारिस गरेकाअनुसार सहकारीका क्षेत्रमा देखापरेका बेथितिविरूद्ध सरकारले कारबाही अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ ।
सरकारले अध्यादेश ल्याएर चाँडै नै अधिकार सम्पन्न सहकारी प्राधिकरण बनाएर सहकारीका बेतिथी अन्त्य गर्ने एउटा बलियो आधार तर्जुमा गर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
यसै गरी एमालेले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको छ । केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामका बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेको निर्णयको अनुमोदन र समसामयिक राजनीतिक विषय भनेर चार वटा कार्यसूची तय गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्