राजनीति

कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दैै उहाँले सो कुरा बताउनुभएको हो । “मेरो निमन्त्रणामा भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अघिल्लो महिना दुबईमा भएको कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो” उहाँले भन्नुभयो ।

कोप–२८ सम्मेलनमा पहिलोपटक छुट्टै साइडलाइन बैठक आयोजना गरिएको जानकारी गराउँदै उहाँले अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकको आवाजलाई नेपालले नेतृत्व गर्ने बताउनुभयो । ‘कोप–२८’ का उपलब्धिको रक्षा र विकास गर्नका लागि आवश्यक काम गर्ने बताउँदै प्रधानमन्त्री दाहालले जलवायु न्याय र समानताको अवधारणालाई नेपालले अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने समय आएको उल्लेख गर्नुभयो ।

जलवायु सङ्कटको मुख्य कारक रहेको कार्बन उत्सर्जन घटाउन र जलवायु वित्त परिचालन गर्ने दायित्व पूरा गर्न विश्व समुदायलाई हामी घच्घच्याइरहने छौँ”, उहाँले भन्नुभयो, “अन्तरमन्त्रालय संयन्त्र र विज्ञसम्मिलित अन्तर्राष्ट्रिय वार्ता टोली बनाई त्यसलाई पूर्ण म्यान्डेटसहित संयुक्त राष्ट्र सङ्घलगायतमा बहुपक्षीय वार्ताहरूमा नेपालका प्राथमिकता प्रस्तुत गर्न र अवसर जुटाउन परिचालन गरिँदैछ ।”

यसका साथै, कार्बन व्यापारमा पहुँच र जलवायु परिवर्तनसम्बन्धी हरित जलवायु कोष, हानी र नोक्सानी कोष लगायतमा नेपालको पहुँच बढाउन र छिटो सहयोग प्राप्त गर्न नियमित लबिङ गर्दै देशमा आवश्यक संस्थागत संयन्त्रलाई सुदृढ गरिने उहाँले बताउनुभयो ।

भारत र चीनसँग सुदृढ र सन्तुलित सम्बन्ध
प्रधानमन्त्री दाहालले यस अवधिमा भारत र चीनसँग सुदृढ र सन्तुलित सम्बन्ध कायम भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा यी छिमेकी मुलुकको सहयोग र समर्थनमा वृद्धि भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले प्रधानमन्त्रीको हैसियतमा गरेका विदेश भ्रमणमा नेपालको प्राथमिकता, चासो र आपसी सहकार्यका विषय प्रष्ट राखेको छु । इटालीको रोममा भएको विश्व खाद्य सम्मेलनमा नेपालले खाद्य सुरक्षा र अल्पविकसित मुलुकको समस्या समाधानमा राखेको प्रस्तुतिले संसारको ध्यान तानेको छ ।” संयुक्त राष्ट्रसङ्घको महासभा र त्यसका अन्य बैठकमा नेपालले राखेका विषयवस्तुले अन्तर्राष्ट्रिय ध्यानाकर्षण पाएको उहाँको भनाइ थियो ।

इजरायलमा हमासको आक्रमणपछि तेज गतिमा नेपाली नागरिकको सकुशल उद्धार गरिएको र त्यो आफैँमा एउटा उदाहरणीय काम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसरी सुडानबाट ३१ जना नेपालीको उद्धार गरियो, त्यसैगरी रुस–युक्रेन युद्धमा फसेका नेपालीको शीघ्र उद्धारका लागि म निरन्तर कूटनीतिक संवादमा छु ।”

मेलम्चीको पानी काठमाडौँवासीले उपयोग गर्ने सपना अधुरो रहेको बुझिरहेको बताउँदै प्रधानमन्त्री दाहालले मेलम्चीको समस्याका बारेमा सबैसँग छलफल गरको जानकारी गराउनुभयो । “मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ । १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु”, उहाँले भन्नुभयो । मेलम्चीको दोस्रो चरण आयोजनाबारे पनि संवाद जारी रहेको र खानेपानीसम्बन्धी काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.