रावललाई निकालिएको होइन, आफैं निस्किएको : महासचिव पोखरेल
बुधबार बसेको नेकपा एमाले सचिवालय बैठकले पार्टी नेता भिम रावललाई निष्काशन गरेको विषयले राजनीतिक वृत्त तातिरहेका बेला एमाले महासचिव शंकर पोखरेलले रावल आफैं पार्टीबाट निस्किएको दावी गर्नुभएको छ ।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको दावी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’
पोखरेलले भीम रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको बताउँदै संसद्भित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको बताउनुभयो ।
तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिएका थिए ।
महासचिव पोखरेलले रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको आरोप समेत लगाउनुभयो ।
उहाँले पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई बेवास्ता गरेको बताउँदै पोखरेलले स्पष्टीकरणको जवाफ नदिनुको अर्थ पार्टी छाडिसकेको भन्ने हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्