जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उहाँ ९४ बर्षको हुनुहुन्थ्यो ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेकोे छ ।
सफल व्यवसायीको चार दशकलामो नेतृत्वपछि सन् २०२१ मा अवकास लिनुभएका सुजुकीको कार्यकालमा कम्पनीको बिक्री १० गुणाभन्दा बढीले वृद्धि भएको थियो ।
सन् १९३० जनवरी ३० मा मध्य जापानी क्षेत्र गिफुमा जन्मिएका उहाँले फर्मको संस्थापकको परिवारमा विवाह गर्नुभएको थियो भने पछि सन् १९७८ मा यसको अध्यक्ष बन्नुभएको थियो ।
आफूलाई ‘सानो व्यवसायमा बूढो मानिस’ भन्न रूचाउने उहाँले हल्का वजनको ‘केई’ सवारी साधनहरू निर्माण गर्नमा ध्यान केन्द्रित गर्नुभयो । ती सवारी साधनमध्ये धेरै उनीहरूको ईन्धन दक्षता र चलाउनका लागि सजिलो भएका कारण प्रसिद्ध थिए ।
उहाँले आफ्नो व्यवसाय विस्तार गर्न सक्रिय रूपमा अन्तर्राष्ट्रिय साझेदार र अवसरहरूको खोजी गर्नुभएको थियो । कार निर्माता कम्पनी सुजुकीले कुनै समय जनरल मोटर्स र फक्सवागनसँग सहकार्यका लागि सम्झौता गरेको थियो र सन् २०१९ मा टोयोटासँग पनि पूंजी परिचालनसम्बन्धी गठबन्धन गरेको थियो।
उहाँले भारतमा सुजुकीको उत्पादनलाई भारतमा विस्तार गर्नुभएको थियो । भारतमा कम्पनीको भारतीय शाखाबाट उत्पादित कारको बजारको अवस्था अहिले शीर्ष स्थितिमा रहेको छ ।
सन् २०२१ मा सुजुकीले कम्पनीको अध्यक्ष पदबाट अवकाश लिँदा कम्पनीको बिक्री ३.१८ ट्रिलियन येन (२० अर्ब अमेरिकी डलर) पुगेको थियो ।
निक्केई शिम्बुन आर्थिक दैनिकका अनुसार सन् १९७८ मा उहाँले कम्पनीको कार्यभार सम्हाल्दा कम्पनीको बिक्री ३२३ अर्ब येन थियो ।
प्रतिक्रिया राख्नुहोस्