छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
सर्लाही, ललितपुर, सल्यान र दैलेखमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, ईश्वरपुर नगरपालिका-७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना.३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ना.३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलबास हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ ।
त्यस्तै ललितपुर, गोदावरी नगरपालिका-१० टाखेलस्थित सडकमा ना.१ क ५९१३ नम्बरको जेसिवीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । जेसिवी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सल्यान, कुमाख गाउँपालिका-३ मिलन चोकस्थित सडकमा रागेचौरदेखि चौरजहारीतर्फ जाँदै गरेको रा.१ त २८५९ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय दिपक बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता दैलेख, महाबु गाउँपालिका-२ डुङ्ररीस्थित सडकमा खरीगैराबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १०२६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ डुङ्री बस्ने ७८ वर्षीया भद्रकला गुरूङको मृत्यु भएको छ । गाडीले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दैलेख हुँदै भारतको लखनउमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्